काठमाडौं - राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकताको औपचारिक घोषणा भएको छ । बुधबार राष्ट्रियसभा गृहमा भएको एक समारोहबिच दुई पार्टी एक भएको घोषणा भएको हो ।

गत शनिबार दुई पार्टीबीच एकता गर्नेगरी १० बुँदे समझदारी भएको थियो । सोही समझदारी अनुसार बुधबार पार्टी एकता भएको हो । एकता घोषणा समारोहमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलगायतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो । 

एकता घोषणा भएपछि एकीकृत पार्टीको नाम राप्रपा नै हुनेछ भने पार्टीको झण्डा गाई र चुनाव चिन्हको सम्बन्धमा भने पछि निर्णय लिइनेछ । राप्रपामा पटक–पटक पार्टी छिन्नभिन्न हुँदै जुट्दै आएको छ ।