काठमाडौं - विश्वभर कोरोना संक्रमितको संख्या २४ लाख ६ हजार नाघेको छ । संक्रमणबाट १ लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ । ६ लाख १७ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७ लाख ६३ हजार नाघेको छ भने ४० हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमितमध्ये ७१ हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोनाका कारण इटालीमा २३ हजार ६ सयभन्दा बढीको ज्यान गएको छ । इटालीमा एक लाख ७८ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमणबाट स्पेनमा २० हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ ।

त्यसैगरी, फ्रान्समा १९ हजार ७ सय, बेलायतमा १६ हजार, जर्मनीमा ४ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । इरानमा ५ हजार १ सय, नेदरल्याण्डमा ३ हजार ६ सय, बेल्जियममा ५ हजार ६ सयभन्दा बढीको ज्यान गएको छ । त्यसैगरी भारतमा संक्रमितको संख्या १७ हजार ९ सय नाघेको छ भने मृत्यु हुनेको संख्या ५ सय ६० पुगेको छ ।