काठमाडौं - सरकारले कोरोनाविरुद्धको खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराएका सबै मित्र राष्ट्रलाई धन्यवाद दिएको छ । कोरोना विरुद्धको लडाइँमा नेपाललाई विभिन्न मित्र राष्ट्रले स्वास्थ्य सामग्री र खोप उपलब्ध गराएका छन् । 

मन्त्रिपरिषद्को आज बसेको बैठकले सरकारले खोप उत्पादक देशलाई अनुदान वा खरिदमार्फत कोरोना विरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

चीन सरकारले नेपालाई दुई चरणमा गरेर १८ लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । यस्तै, थप परिमाण भने सरकारले खरिद गरेको छ । भारतबाट नेपाली सेनालाई गरी ११ लाख मात्रा खोप अनुदानमा प्राप्त भएको छ । 

अमेरिकाले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत १५ लाख ३४ हजार ८५० मात्रा खोप उपलब्ध गराएको छ । ती देशबाट प्राप्त खोप निरन्तर लगाइ राखिएको छ ।