काठमाडौं - सरकारले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

सोमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर, फागुन ११ गते सर्वोच्च अदालतले सरकारको उक्त कदम असंवैधानिक रहेको ठहर गर्दै पुनःस्थापना गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश गरेको थियो । त्यसपछि आजको बैठकले औपचारिक रुपमा २३ गते बैठक बोलाउने निर्णय गरेको हो ।