काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युनाईटेडले एभर्टनसँग ३-३ काे बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको २४ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ४५औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

तर, ४९औं मिनेटमा एब्डुलाए डोउकाउरेले गोल गर्दै एभर्टनलाई खेलमा फर्काउने प्रयास गरे । ५२ औं मिनेटमा जेम्स रोड्रीगेजले गोल गरेपछि खेल २-२ को बराबरीमा फर्कियो । त्यसपछि ७०औं मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाए । तर, इन्ज्युरी समयमा एभर्टनका डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै युनाइटेडबाट अंक खोस्न सफल भए ।

यो बराबरीसँगै युनाईटेडलाई उपाधि होडमा धक्का लागेको छ । २३ खेल खेलेको युनाईटेड ४५अंकसहित दोस्रो स्थानमा छ भने २ खेल कम खेलेको सिटीको ४७अंक छ । एभर्टन भने ३७ अंक जोडेर लिगको छैटौं स्थानमा छ ।