आँगनमै पानी आएपछि पञ्चेबाजा बजाएर नाचे गाउँले
तनहुँ - राममाया आले मगरले ७७ वर्षको उमेरमा बल्ल आफ्नै आँगनको छेउमा रहेको धारोबाट पानी भरेर पिउन पाइन्। डोकोमा गांग्री बोकेर बुढेसकालमा खुट्टा कमाउँदै धोवीखोलाको उकाली ओराली गर्नुपर्ने बाध्यताको अन्त्य हुँदा उनी औधी खुसी छन्।
‘एक ग्रांगी पानी ल्याउन डेढ घण्टा समय लाग्ने, पानी कसरी पुर्याउने होला त भन्ने चिन्ता हुन्थ्यो। सुत्ने बेला भोलि बिहान सबैभन्दा पहिला खोल्सा, पधेरोमा पुग्छु भन्ने लाग्थ्यो। बिहान चार बजेको झिसमिसेमै सबै काम छाडेर ढोल बोकेर कुद्ने। जहिले त्यही पिरलो’, उनले भनिन्, ‘आजकल त चाहिएको बेला आफ्नै घरको धारामा भर्न पाइन्छ। हाइसुख्ख भाछ। सात बजेसम्म सुतेर बस्छौँ।’
राममायाले पानीको सहजता भएपछि घरको सरसफाईमा ध्यान दिन थालेको बताउँछिन्। पानीको लोभलालच छैन। पानी लिन जाने ध्याउन्नमा घरायसी काम नसकिने पिर हुँदैन’, उनी भन्छिन्,‘बेलामै घरको काम सकिन्छ। सरसफाईमा लाग्न पाएका छौँ।’
राममायालाई जस्तै हाइसुख्ख छ, भिमाद नगरपालिका–४ बरेनडाँडाका महिलालाई। धोविखोलाको पानी लिफ्टिङ गरेर यहाँको प्रत्येक घरका धारा झर्न थालेकाले गाउँले हर्षित भएका छन्। लामो समयदेखि गाउँमा खानेपानी ल्याउने पहल भईरहेको थियो। यसपाली घरघरै पानी आएको खुसीयालीमा बाजागाजासहित स्थानीयले उत्सव नै मनाए।
खानेपानी आयोजनाको उद्घाटन गर्न पुगेका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङलाई भव्य स्वागत गरे। उनै मन्त्री गुरुङले आयोजनाका निम्ति पहल गरेका हुन्। मन्त्रकिो स्वागतार्थ गाउँमा पञ्चेबाजा घन्कियो। बुढाबुढी पञ्चेबाजामा रमाउदै नाचे। युवापुस्ताले खैजेडीको तालमा कौराहा गाउँदै कम्मर मर्काएर। खुसीयाली मनाउन कार्यक्रममा अधिकांश महिला सारिक थिए। किनकी खानेपानीको जोहो कसरी गर्ने भन्ने चिन्ता सदैव उनीहरुलाई नै थियो। अब सधैका लागि हाइसन्चो भएको छ।
नागरिक दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस