काठमाडौं - नेपाली कांग्रेस सासंद रामहरि खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूची सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरुको सूचीसहित श्वेतपत्र जारी गर्न माग गरेका हुन्।

उनले एनजीओ तथा आइएनजीओमार्फत आएको रकम दुरुपयोग गरिएको भन्दै मुलुककै बद्नाम भएको तर्क पनि गरे।

सासंद खतिवडाले भने, ‘एनजीओ र आइएनजीओका नाममा आएका रकम कति छन्, त्यो रकम दुरुपयोग गरियो भनेर सारा नेपाललाई नै बद्नाम गर्ने काम गरेको छ सरकारले । भएको के हो श्वेतपत्रको रुपमा जारी गरोस् ।’

उनले अमेरिकाले गैरकानुनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत बताए। उनले अन्तर्राष्ट्रिय मानव अधिकार मूल्य मान्यतामा रहेर मात्र गैरआवासीय फिर्ता गर्नुपर्ने बताए।

५० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च गरेर अमेरिका पुगेका नौ नेपाली बुधबार मात्रै अमेरिकाबाट फर्काइएका थिए । मानव तस्करको फन्दामा परेका उनीहरू १४ वटासम्म मुलुक पार गर्दै अमेरिका पुगेका थिए ।