काठमाडौं,एजेन्सी - एसी मिलानका राफेल लियोले सिरि ए फुटबलको ईतिहासमै सर्वाधिक छिटो गोलको कीर्तिमान कायम गरेका छन् ।

आईतबार राति सासुलोविरुद्ध खेल सुरु भएको ६ सेकेन्डमै लियोले एसी मिलानका लागि गोल गर्दै कीर्तिमान बनाएका हुन् । पोर्चुगलका २१ वर्षिया फरवार्डले हकन काल्होग्लुको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

उनले पिआचेन्जाका लागि पाओलो पोगीले फ्लोरेन्टिनाविरुद्ध सन् २००१ को डिसेम्बर २००१ मा कायम गरेको ८ दशमलव ९ सेकेन्डको छिटो गोलको कीर्तिमान भंग गरेका हुन् ।

लियो लगत्तै एलेक्सिस सेलेमेकर्सले मिलान क्लबको अग्रता दोब्बर बनाएका थिए । खेल सकिन एक मिनेट अघि घरेलु टोलीका डोमनिको बर्दीले एक गोल फर्काएका थिए ।

जितसंगै मिलान क्लबले शहरी प्रतिद्धन्दी ईन्टरसंग १ अंकको अग्रता लिन सफल भएको छ । शीर्ष स्थानको एसी मिलानको ३१ अंक छ । सासुलो २३ अंक सहित छैटौं स्थानमा छ ।