काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित दर्ता गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियलले सेल्टा भिगोलाई २–० ले पराजित गरेको हो ।

खेलको छैटौँ मिनेटमा लुकास भाज्क्वेजको गोलबाट रियलले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि ५३औं मिनेटमा मार्कोस एसेन्सियोले गोल गर्दै रियललाई २-० को जित दिलाए । सेल्टाले पनि खेलमा धेरै अवसर पाएको थियो तर, सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुक्यो ।

जितसँगै साविक विजेतासमेत रहेको रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलले १७ खेलबाट ३६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ३५ अंक छ । तर, एट्लेटिकोले रियलभन्दा ३ खेल कम खेलेको छ । पराजित सेल्टा २३ अंकसहित आठौं स्थानमा छ ।