काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका नापी तथा मालपोत कार्यालयमा अनधिकृत व्यक्तिको प्रवेश पूर्ण रूपमा रोक्ने कडा व्यवस्था लागू गरेको छ ।

अब कार्यालय प्रवेशका लागि अनिवार्य रूपमा परिचय खुल्ने कागजात देखाउनुपर्नेछ । मन्त्री प्रतिभा रावलको निर्देशन र सचिवस्तरीय निर्णयपछि नापी विभागले सबै नापी तथा विशेष नापी कार्यालयलाई पत्राचार गर्दै उक्त व्यवस्था तत्काल कार्यान्वयन गर्न आदेश दिएको हो ।

जग्गा प्रशासनसँग सम्बन्धित कार्यालयहरूमा बिचौलियाको प्रभाव बढ्दै गएको गुनासोपछि मन्त्रालयले ‘शून्य सहनशीलता’ नीति लिएको छ।

अब बिचौलियालाई प्रवेश गराएको वा सरकारी स्रेस्तामा पहुँच दिएको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई नै जिम्मेवार ठहर्‍याएर कारबाही गरिने स्पष्ट चेतावनी दिइएको छ।

मन्त्रालयले यो व्यवस्था कार्यान्वयन भएरनभएको अनुगमन गर्न जुनसुकै बेला छड्के जाँच गरिने जनाएको छ। नियम उल्लंघन गर्ने कार्यालयमाथि कडा कारबाही हुने चेतावनीसमेत दिइएको छ।