सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिका वडा नं, ९ भोटसिपाको तीखु मोडबाट बस खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । ३० जना भन्दा बढी यात्रु घाइते भएका छन् । घटनास्थल पुगेका स्थानीय कुबेर भट्टराईले दिएको प्रारम्भिक जानकारी अनुसार बसभित्र अड्केका शव निकाल्न प्रहरीले प्रयास गरिरहेको छ । चौतारा, मेलम्ची, नवलपुर र भिमटारबाट प्रहरी घटनास्थल पुगेको छ । 

दशैँ मनाएर राजधानी फर्कन लागेका स्थानीय दुर्घटनामा परेका हुन् । हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस सडकबाट करिव दुई सय मिटर तल खसेको छ । सुरुमा बसको टायर पंचर भएको थियो । टायरमा हावा गइरहेकै अवस्थामा चालकले बस अर्को मोडमा लैजाँदै गर्दा ब्रेक फेल भएर बस पल्टेको हो । 

प्रत्यक्षदर्शी भट्टराईका अनुसार ९५ प्रतिशत यात्रु घाइते छन् । गाडीमा सिटबाहेक उभिएर र झुण्डिएर यात्रु राजधानी आउँदै थिए । दुर्घटनामा इन्द्रावती ८ र ९ का स्थानीय हताहती भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।