अदालतमा बयान चलिरहँदा भरतपुरमा रवि लामिछानेका समर्थकहरूको ठूलो भीड जम्मा
चितवन - जिल्ला अदालत चितवनमा पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन मुद्दामा बयान लिन सुरु भएको छ । पुडासैनीलाई आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीनजना विरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि बयान सुरु भएको हो ।
सो अभियोगमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीनजना विरुद्ध आइतबार अदालतमा मुद्दा दर्ता गरिएको थियो । जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
मुद्दा दर्ता भएपछि यतिबेला सोही अभियोगमा पक्राउ परेकी नर्स अस्मिता कार्कीको बयान सुरु भएको अदालत स्रोतले जानकारी दिएको छ । अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा एकरएक जनाको पालैपालो बयान सुरु भएको हो ।
अदालतमा बयान चलिरहँदा यतिबेला अदालत आसपासका क्षेत्रहरूमा टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरूको ठूलो भीड जम्मा भएको छ ।
प्रहरीले समर्थकहरुको भीडलाई अदालत भन्दा केही परै रोकेर राखेको छ । समर्थकहरुले रवि लामिछानेलाई समर्थन गर्न भन्दै नाराबाजी गरिरहेका छन् ।
अदालत स्रोतका अनुसार भने अस्मिता कार्कीको बयान सकिएपछि रवि लामिछोने वा युवराज कँडेलको बयान सुरु हुने जनाएको छ । तीनै जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।
थुनछेक बहस भोलि मात्रै हुने जनाइएको छ । थुनछेक बहस भएपछि मात्रै अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ ।
थुनछेक बहस सोमबार हुने अवस्थामा टिभी प्रस्तोता लामिछानेसहित तीनै जनालाई आज पनि हिरासतमा लगिने सम्भावना छ ।
फेसबुक पेज Like गर्नुहोस