काठमाडौं - बलिउडका सुपरस्टार शाहरुख खान र सलमान खानको मित्रताका किस्सा चर्चित छन्। त्यसै गरी उनीहरुबीचको झगडाबारे पनि धेरैलाई थाहा छ। तर उनीहरुबीच के कारणले झगडा सुरु भएको भन्ने कुरा धेरैलाई थाहा थिएन।

सन् १९९५ मा रिलिज भएको हिट फिल्म ‘करण अर्जुन’मा सँगै काम गरेपछि यी दुई नजिकको साथी भएका थिए।  अहिले पनि शाहरुख र सलमानको घनिष्ट मित्रता कायमै छ। तर कुनै समय थियो जब यी दुई मिल्ने साथीले एकअर्कासँग बोल्न छोडेका थिए। 

सन् २००८ मा बलिउड अभिनेत्री कट्रिना कैफको जन्मदिनको पार्टीमा भएको झगडापछि शाहरुख र सलमानको सम्बन्धमा दरार आएको थियो।  

बोलचाल बन्द भएको कयौं वर्षपछि बल्ल यी दुईको भएको थियो। फेरि साथीकै रुपमा सम्बन्ध अगाडि बढाए पनि उनीहरुले झगडा हुनुको कारण खुलाएका थिएनन्। सन् २०१६ मा भएको ‘स्टार स्क्रिन अवार्ड’ कार्यक्रममा भने दुई अभिनेताले झगडा भएको दिन सम्झेका थिए। 

कार्यक्रममा उपस्थित शाहरुख र सलमानले झगडा हुनुको वास्तविक कारण बताएका थिए। ‘म र सलमान किन झगडा गरे भन्ने कसैलाई थाहा थिएन,’ शाहरुखले भनेका थिए, ‘हामी निकै सानो कुरामा झगडा गरेका थियौं र त्यो पनि दुईबीचको धेरै खुसी भन्ने विषयमा।’

सलमानका अनुसार शाहरुख उनलाई बिहे गर्न जोड गरिरहेका थिए। यसमा शाहरुखले जवाफ दिएका थिए, ‘जब म काम सकाएर घर जान्छु आफ्नी श्रीमतीलाई देखेपछि मलाई आनन्द महसुस हुन्छ। यही कुरा म सलमानलाई बुझाउन खोज्दै थिएँ।’

शाहरुखले श्रीमतीको विषय निकालेपछि सलमानले आफू श्रीमती नहुँदा धेरै खुसी भएको बताएका थिए रे! 

फेरि शाहरुखले आफ्नी छोरीले दिने खुसी सलमानलाई सुनाउन थाले तर सलमान भने श्रीमती र छोराछोरी बिना बढी खुसी भएको कुरामा अडिग थिए। यसरी एकअर्काको खुसी दाज्न थालेपछि उनीहरुबीच झगडा सुरु भएको शाहरुखले बताए। 

सन् १९९१ मा शाहरुख खानले आफ्नी प्रेमिका गौरी खानसँग वैवाहिक सम्बन्ध गाँसेका थिए। उनका एक छोरी सुहाना खान र दुई छोरा आर्यान खान र अबराम खान छन्। यता सलमान खान भने अविवाहित नै छन्।  

झगडाको क्रममा उनीहरुले हात हालाहाल गरेका थिएनन्, केवल भनाभन मात्र परेको सलमानले बताए। 

धेरै वर्षसम्म एकअर्कासँग कुरा नगरेपछि उनीहरुले बाबा सिद्दिकको इफेतार पार्टीमा अँगालो हालेर पुराना झगडा बिर्सिएका थिए। 

अहिले यी दुई फिल्ममा फेरी सँगै देखिन थालेका छन्। शाहरुख खानले सलमानको ‘ट्युबलाइट’ फिल्ममा क्यामियो गरेका थिए र सलमान पनि शाहरुखको फिल्म ‘जिरो’मा देखिएका थिए।