काठमाडौं,एजेन्सी - जारी १६ औं संस्करणको युरोकप फुटबलमा जर्मनी समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

एलिनाज स्टेडियममा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा हंगेरीसँग २-२ गोलको बराबरी खेल्दै जर्मनी समूह उपविजेता बनेको हो ।

खेलको ११ औं मिनेटमा कप्तान एडम सज्लाईले गोल गर्दै हंगेरीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले रोलान्डको पासमा उत्कृष्ट हेडर गोल गरे ।

तर, खेलको ६६ औं मिनेटमा काइ हाभर्टेजले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा फर्काए । उनले हुमेल्सको पासमा गोल गरे ।

त्यसको २ मिनेटपछि आन्द्रेस सेफेरले गोल गर्दै हंगेरीलाई २-१ को अग्रता दिलाए  । तर, खेलको ८४ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै जर्मनीलाई २-२ को बराबरीमा फर्काउदै हारबाट जोगाए ।

यस बराबरीसँगै समूह ‘एफ’को उपविजेता बनेको जर्मनी ३ खेलमा ५ अंक जोड्यो । अब जर्मनीले अन्तिम १६ मा इंग्ल्यान्डसँग खेल्ने छ ।

हंगेरी भने समूह चरणबाट बाहिरिएको छ । हंगेरीले ३ खेलमा २ अंक जोड्यो ।