बार्सिलोनाको शानदार जित, चम्किए मेस्सी
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसलाई ५-१ले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनेल मेस्सी र ट्रिन्काओ चम्किए । उनीहरुले समान २-२ गोल गरे । जुनियर फिर्पोले एक गोल थपेका थिए । यस्तै, एलाभेसका लुइस रिओजाले सान्त्वना गोल फर्काएका थिए ।
खेलको २९ औं मिनेटमा ट्रिन्काओले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ५७ औं मिनेटमा एलाभेसका लुइसले गोल गर्दै खेलमा फर्किने कोसिस गरे । तर, ७४ औं मिनेटमा ट्रिन्काओले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-१ को अग्रता दिलाए ।
त्यसको एक मिनेटमै मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ४-१ ले अघि बढ्यो । ८०औं मिनेटमा फिर्पोले गोल गर्दै बार्सिलोनालाई ५–१ को शानदार जित दिलाए । जितसँगै बार्सिलोना २२ खेलबाट ४६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित एलाभेस २२ अंक जोडेर १६ औं स्थानमा छ ।
यस्तै, शीर्ष स्थानको एट्लेटिको मड्रिडले पनि ग्रानडालाई २-१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै एट्लेटिकोले २१ खेलमा ५४ अंक जोडेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस