काठमाडौं - उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले मनसुनजन्य प्रकोपमा क्षतिग्रस्त घरको पुनर्निर्माणमा सरकारले सहयोग गर्ने बताएका छन् । 

आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले मनसुनजन्य घटनाबाट ५ सय ६५ निजी घर पूर्णरुपमा क्षति भएको र क्षति पुगेका घरको पुनर्निर्माण विपद प्रभावित निजी अवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम गरिने जानकारी दिएका हुन् । 

‘हालसम्म सिन्धुपाल्चोक मनाङ, लमजुङ गोरखा, कास्की, अर्घाखाँची, खोटाङ तनहुँ, सर्लाही लगायतका जिल्लाहरुमा ५ सय ६५ घर पूर्ण रुपमा क्षति भएको छ ।’ उनले भने, ‘ १ सय १२ घरमा भने आंशिक क्षति भएको छ । ३६ सरकारी कार्यालय भवनमा क्षति पुगेको छ । ९ विद्यालय तथा सामुदायिक भवन, १५ वटा पक्की मोटरेवल पुल, २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।’ 

यस्तै, मन्त्री पौडेलले प्राकृतिक विपत्तिबाट घरमा क्षति पुगेका ५ सय ७२ परिवारका लागि ५० हजारका दरले राहत दिने पनि बताएका छन् । ‘पूर्ण तथा आंशिक घर क्षति भएका ५ सय ७२ परिवारका लागि अस्थायी बसोबास गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ । ’ उनले भनेका छन् । 

बाढी पहिरोले देशभर ४२ वटा खानेपानी आयोजनामा र २५ जलविद्युत आयोजनामा पनि आंसिक क्षति पुगेको छ।