काठमाडौं - नेपाल क्रिकेट संघले सन् २०२६ का लागि पुरुष तथा महिला क्रिकेट खेलाडीहरूको नयाँ सेन्ट्रल कन्ट्र्याक्ट सार्वजनिक गर्दै पहिलो पटक ‘ए प्लस’ श्रेणी लागू गरेको छ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई थप प्रोत्साहन दिने उद्देश्यसहित क्यानले नयाँ संरचना लागू गरेको जनाएको छ ।

यसपटक पुरुषतर्फ राष्ट्रिय टोलीका तीन प्रमुख खेलाडी रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने पहिलो पटक ‘ए प्लस’ क्याटेगोरीमा परेका छन् ।

एकदिवसीय टोलीका कप्तान रोहित, टी–२० कप्तान दीपेन्द्र र लेग स्पिनर सन्दीपलाई समेटिएको उक्त श्रेणीका खेलाडीले मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक पाउने क्यानले जनाएको छ ।

पुरुषतर्फ कुल ३८ खेलाडीलाई पाँच समूहमा वर्गीकरण गरिएको छ । ‘ए’ श्रेणीमा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी परेका छन् । ‘बी’ श्रेणीमा आरिफ शेख, भीम सार्की, गुल्सन झा, ललित राजवंशी र नन्दन यादव समावेश भएका छन् ।

त्यस्तै ‘सी’ श्रेणीमा अनिल साह, अर्जुन कुमाल, बसिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, इशान पाण्डे, कुशल मल्ल, लोकेश बम, शाहब आलम, शेर मल्ल र सन्दीप जोरा रहेका छन् ।

‘डेभलपमेन्ट’ समूहमा अर्जुन घर्ती, अर्जुन साउद, आकाश चन्द, विपिन खत्री, दीपक डुम्रे, देव खनाल, नारायण जोशी, पवन सर्राफ, रासिद खान, रिजन ढकाल, सन्तोष यादव, त्रितराज दास, युवराज खत्री, सागर ढकाल र प्रतिश जीसीलाई राखिएको छ ।

महिलातर्फ क्यानले २५ खेलाडीलाई चार श्रेणीमा समेटेको छ । ‘ए’ श्रेणीमा कप्तान इन्दु बर्मा सहित पूजा महतो, रुविना क्षेत्री र सीता राना मगर रहेका छन् ।

‘बी’ श्रेणीमा कविता कुँवर, मनिषा उपाध्याय र सम्झना खड्का परेका छन् भने ‘सी’ श्रेणीमा बिन्दु रावल, कविता जोशी, रिया शर्मा र रुवी पोदार समावेश छन् ।

महिलातर्फको ‘डेभलपमेन्ट’ समूहमा अनु कडायत, अश्मिना कर्माचार्य, ईश्वरी विष्ट, काजल श्रेष्ठ, लक्ष्मी साउद, ममता चौधरी, रचना चौधरी, रोमा थापा, सावित्री धामी, सना प्रविन, सिमाना केसी, सोनी पाख्रिन, सुमन विष्ट र यशोदा विष्टलाई राखिएको छ ।

क्यानका अनुसार खेलाडीको पछिल्लो प्रदर्शन, निरन्तरता र राष्ट्रिय टोलीमा योगदानलाई आधार बनाएर वर्गीकरण गरिएको हो ।