काठमाडौं,एजेन्सी - काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट लिगको उपाधिका लागि दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिडिरहेका छन् ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि खेल सुरु भएको हो ।

दुवै टोलीका कप्तान आफ्नो लक्ष्य उपाधि जित्नु नै रहेको बताएका छन् । शरद भेषावकरको कप्तानीमा नेपाल एपीएफ र मन्जित श्रेष्ठको कप्तानीमा नेपाल पुलिस मैदानमा उत्रँदैछ ।

शरदले लिग खेलमा पुलिसलाई हराए पनि कमजोर भने नरहेको बताएका छन् । सबैको राम्रो प्रदर्शनका साथ फाइनलमा आएको हुँदा टोलीको आत्माविश्वास पनि उच्च रहेको उनले बताए । 

यस्तै नेपाल पुलिसका कप्तान मन्जित श्रेष्ठले तयारी राम्रो भएको हुँदा उपाधि जित्नेमा आत्माविश्वासी रहेको बताए । एपीएफ राम्रो टोली हुँदा योजनाका साथ खेल्ने बताए । मन्जितले फाइनलमा राम्रो खेल्दै उपाधि जित्ने बताएका छन् ।

पाँच टोली सहभागी प्रतियोगितामा एपीएफ र पुलिस लिगमा शीर्ष दुई स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् । पुलिस ४ खेलमा ३ मा जित र १ मा हारसहित शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनायो । पुलिसले पहिलो खेलमा बाग्मती प्रदेशलाई २ रनले हराएको थियो ।

एपीएफले पहिलो खेलमा आर्मी र दोस्रोमा पुलिसलाई समान १–१ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा बाग्मती प्रदेशसँग २७ रनले पराजित हुँदा अन्तिम खेलमा मेयर–११ लाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

मेयर कपको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन् ।  यस्तै प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्सम्यान र बलरले २५–२५ हजार हात पार्नेछन् ।