छानबिन समितिले लियो निवर्तमान गृहमन्त्री सुधन गुरुङको बयान
काठमाडौं - सरकारले गठन गरेको सम्पत्ति छानबिन समितिले निवर्तमान गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङको बयान लिएको छ ।
समितिले मंगलबार र बुधबार गरी दुई दिन गुरुङसँग बयान लिएको हो । गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा सुनदेखि जग्गासम्ममा विभिन्न प्रश्न उठेका थिए ।
कतिपय जग्गा मन्त्री हुनु दुई दिनअघि मात्र वारेसमार्फत खरिद गरिएको विवरण सार्वजनिक भएको थियो । यस्तै सामाजिक कामका निम्ति खोलिएको गैरनाफामूलक ‘हामी नेपाल’को सम्पत्ति पनि व्यक्तिगत खातामा गएको भनेर प्रश्न उठाइएका थिए ।
त्यसबाहेक दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गुरुङको नाममा देखिएको सेयरबारे प्रश्न उठेपछि वैशाख ९ मा गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । उनले आफूमाथिको छानबिन सहज होस् भनेर राजीनामा दिएको सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए ।
उनले राजीनामा दिएको २०औँ दिनमा वैशाख २८ गते मन्त्रिपरिषद्को बैठकबाट उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।
वैशाख २८ गते १५ दिनको समय दिएर समिति गठन गरिएको समितिले जेठ ४ देखि काम थालेको थियो । समितिको कार्यकाल यही जेठ १९ गते सकिँदै छ ।
अबको ४ दिनको बिदामा सकभर प्रतिवेदन लेखन सक्ने गरी काम भइरहेको समितिका सदस्यहरू बताउँछन् । यो समितिमा भण्डारीसहित महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अन्युतमणि न्यौपाने सदस्य छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस