पोखरा - क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कतारेकी एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले बुधवार पोखरामा आयोजना गरेको २२औँ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा पुरुषतर्फ दीपेन्द्र र महिलातर्फ एरिका वर्ष उत्कृष्ट खेलाडी घोषित भए । दुवैले पल्सर बाइक पाए ।

दीपेन्द्रले क्रिकेटकै कुशल भुर्तेल, उसुका विजयी सिञ्जाली, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र खोखोका जनक चन्दलाई पछि पारे । एरिकाले फुटबलकी रेखा पौडेल, करातेकी एलिसा रास्कोटी मगर, खोखोकी मानमति धामी र भलिबलकी सनिला श्रेष्ठलाई हराइन् ।

खो खो विश्वकपमा दुई ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई ‘टिम अफ दि इयर’ अवार्ड प्रदान गर्दा पिपल्स च्वाइस अवार्ड भलिबलका हिमाल सुनारी र उत्कृष्ट युवा खेलाडीको अवार्ड नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले हात पारे ।

हिमालले फुटबलकी रेखा, उसुका विजय, क्रिकेटकी पुजा र टेबलटेनिसकी इभाना थापालाई हराउँदै अवार्ड जिते । पूजाले एथलेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका र फुटबलकी समिर तामाङलाई पछि पारिन् ।

पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड पाउँदा एथ्लेटिक्सकी प्रभा आङदेम्बेले उत्कृष्ट पारा एथ्लेटको अवार्ड पाइन् ।

प्रशिक्षकका नेगीलाई करातेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खोखोका लक्ष्मीनारायण वैद्यलाई हराए । पूर्वखेलाडी खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड र पलेशा गोवर्धनलाई विशेष अवार्ड ‘ट्रेलब्लेजर अफ दि इयर’ प्रदान गरियो ।