काठमाडौं - भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका २ नेपालीको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मंगलवार राति द्रूत परीक्षण किटबाट कोरोना परीक्षण गर्दा २ जनाको रिपोर्ट पोजेटिभ आएको सिनियर कन्सल्टेन्ट जनरल फिजिसियन डा. रणजित झाले जानकारी दिए ।

तब्लिगी जमातद्वारा आयोजित सभाबाट आएका खडग नगरपालिकाका ३, सुरुङ्गा नगरपालिका, अग्निसाइर कृष्ण सवरण, विष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकाका १–१ गरी ७ जनाको द्रूत परीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले बताए ।

तीमध्ये खडग नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।दिल्लीको निजामुद्दीन मरकजमा सहभागी भएर फर्किएको ३२ दिन बितेको बताएपनि स्थानीय भने चैत ११ गते घर फर्किएको बताउँछन् । सप्तरी फर्किएका उनीहरू घरमै बसेका थिए । रिपोर्ट पोजिटिभ आएपछि २ जनालाई राजविराजस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

अस्पतालले ७ जनाकै स्वाब परीक्षणका लागि राति नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ । अन्य ५ जनालाई खडग नगरपालिकास्थित क्वारेन्टाइनमा पठाएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट दासले बताए ।