काठमाडौं - वातावरण विभागले काठमाडौंबासीलाई सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ । सोमबारदेखि मौसममा आएको बदलावसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर खतराको तह नै पार गरेपछि विभागले यस्तो आग्रह गरेको हो ।

सोमबार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ४८७ पुगेको थियो । जबकी एक्वुआई ५० सम्म हुनु राम्रो मानिन्छ । ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानु चाहिँ घातक हो।

काठमाडौंको प्रदुषण एक्वुआईमा रहेका दोस्रो र तेस्रो स्थानको भन्दा झण्डै दोब्बर पुगेको थियो । त्यतिबेला दोस्रो स्थानमा रहेको कीर्गिस्तानको भिश्केकको २९६ र तेस्रो स्थानको भियतनामको हनौईमा २४१ एक्युआई थियो । पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र हिजो-अस्तिको तुलनामा वायु अत्यधिक प्रदूषित भएको मौसमविद् बताउँछन् ।