मधेस प्रदेश - मधेस प्रदेश सभा पछिल्ला घोचपेचपूर्ण राजनीतिक घटनाक्रमले थप तनाबपूर्ण बनेको छ ।

सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेश सांसदलाई पदमुक्त गर्ने निर्णय उपसभामुख बबिता कुमारी राउतले बदर गरेपछि प्रदेश राजनीति नयाँ मोडमा पुगेको हो ।

बिहीबार सभामुख मण्डलले लगातार १० बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै जनता समाजवादी पार्टी (जसपा) का चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई पदमुक्त गरिएको सूचना जारी गरेका थिए।

तर, सो निर्णय केही घण्टामै उल्टियो। उपसभामुख राउतले अर्को सूचना जारी गर्दै सभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता भइसकेको कारण उनी अब निर्णय लिन उपयुक्त अवस्थामा नरहेको जिकिर गरिन् ।

उनका अनुसार महाभियोग प्रस्ताव दर्ता भएको बखत सभामुखको पद स्वतः रिक्त मानिने भएकाले मण्डलले गरेको पाँच सांसद पदमुक्त गर्ने निर्णय अमान्य ठहरिन्छ।

सभामुख मण्डल एमालेबाट निर्वाचित छन् भने उपसभामुख राउत जनमत पार्टीबाट निर्वाचित भएकी हुन्।