धनुषा - हिरासतमा रहेका युवकको मृत्यु भएपछि धनुषाको सवैला इलाका प्रहरी कार्यालयमा स्थानीय वासिन्दाले तोडफोड गरेका छन् । इलाका प्रहरी कार्यालयको थुनामा रहेका धनुषाको सवैला नगरपालिका–१२ का २३ वर्षीय शम्भु सदाको गएराति हिरासतमै मृत्यु भएको थियो ।

उनी झुन्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । घटना शंकास्पद रहेको भन्दै स्थानीय वासिन्दाले बिहानैदेखि प्रदर्शन तथा चौकीमा आक्रमण गरेका हुन् ।

उनीहरुले प्रहरीको गाडी समेत तोडफोड गरेका छन । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको छ । ट्याक्टर चालक सदालाई दुर्घटना सम्बन्धी मुद्दामा प्रहरीले जेठ १२ गते पक्राउ गरेको थियो ।