काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमा नै इनाकी विलियम्सको गोलबाट घरेलु टोली एथ्लेटिकले सुरुवाती अग्रता लिएको थियो । तर, १४औं मिनेटमा पेड्रीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ३८औं र ६२औं मिनेटमा कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोना ३-१ को अवस्थामा फर्कियो ।

तर, ९० औं मिनेटमा बिल्बाओका इकर मुनियनले एक गोल फर्काए पनि जितका लागि सम्भव भएन ।

जितसँगै बार्सिलोनाले १७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित १८ खेलमा बिल्वाओ २१ अंकसहित नवौं स्थानमा छ । २ खेल कम खेलेको एट्लेटिको म्याड्रिड भने ३८ अंकसहित शिर्षस्थानमा छ ।