काठमाडौं - स्पेनिस ला लिगामा बार्सिलोना रेलिगेसन जोनको इस्पानियोलसँग बराबरीमा रोकिएको छ । इस्पानियोलको मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोना २–२ गोलको बराबरीमा रोकिएको हो ।

बराबरीका कारण बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंक दूरी बढाउने मौका गुमाएको छ । अंक बाँढेसँगै बार्सिलोनाको ४० अंक पुगेको छ । रियलले शनिबार राती भएको खेलमा गेटाफेलाई हराउँदै समान ४० अंक बनाएको छ ।

इस्पानियोलको मैदानमा भएको बार्सिलोना डर्बी म्याचको २३औं मिनेटमा डेविड लोपेजले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए । पहिलो हाफमा सो अग्रता कायम राखेको बार्सिलोनाका लागि लुइस स्वारेजले ५०औं मिनेटमा बराबरी गोल फर्काए । त्यसको ९ मिनेटपछि अर्टुरो भिडलले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

७५औं मिनेटमा फ्रेङ्की डि जोङ दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित बन्यो ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा स्पान्योलका चाइनिज खेलाडी वु लेईले गोल गरे । उनले मेलेन्दोको पासमा गोल गरेका थिए ।