देउवाकाे स्पष्टोक्ति:'साझा कार्यक्रममा एमसिसी राख्न प्रचण्डजीले मानेनन्'
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सरकारका न्युनतम साझा कार्यक्रममा राख्न नसमेटिनुको कारण खुलाएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्नुअअघि बुधबार बूढानिलकण्ठस्थित निजी निवासमा भएको पार्टीको आन्तरिक छलफलमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले आफूले एमसिसीलाई साझा कार्यक्रममा समावेश गर्न खोजे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नमानेको कारण नसकेको स्वीकार गरेका हुन् ।
छलफलमा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले एमसिसीको विषयमा किन गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रम मौन छ भन्दै प्रश्न उठाएका थिए । त्यसको जवाफमा सभापति देउवाको भनाई उद्यृत गर्दै स्रोतले भनेको छ,‘मैले त साझा कार्यक्रममा एमसिसी राख्न खोजेको थिएँ तर प्रचण्डजीले मानेनन् ।’ अध्यक्ष प्रचण्डले एमसिसी देशको हितमा भएपनि केही बुँदामा समस्या भएका कारण संशोधनसहित पास गर्नुपर्ने बताउँदै आएका छन् ।
हालै बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले एमसीसी सम्झौता के गर्नुहुन्छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेपछि यो विषयले चर्चा पाएको थियो । उनले गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रम समेटिएको प्रतिवेदन पल्टाउँदै साेधेका थिए - ‘एमसीसी बिर्सनु भयो कि क्या हो ? खै मैले त देखिनँ । छैन कहीँ । नेपाली जनताले जान्न चाहेको छ, सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी तपाईं ?’
प्रधानमन्त्री पदमा रहेका बेला आफूले एमसीसी पास गर्नुपर्छ भनेर दिएकाे अभिव्यक्तिका भिडियो सार्वजनिक गरेर अहिले वातावरण बनाउन खोजिएको भन्दै उनले प्रश्न गरेका थिए, 'तपाईं त बहुत मजबुद प्रधानमन्त्री हुनुहुन्छ । १६५ सिट तपाईंको साथमा छ । तपाईंको पछाडि छ । स्ट्रोङ, कसैको साथ चाहिँदैन तपाईंलाई । कसैको मद्दत चाहिँदैन तपाईंलाई । त्यो १६५ को सबल जत्थाले के भन्छ ? एमसीसी पास गर्ने, फेल गर्ने कि चुप लाग्ने ?'
फेसबुक पेज Like गर्नुहोस