काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य भएको प्रारम्भिक प्रतिक्रिया दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्चको फैसला ऐतिहासिक भएको बताएका हुन् ।

उनले बालुवाटार र शीतलनिवासले आवेशमा गरेको निर्णयलाई सर्वोच्चले सच्चाइदिएको बताएका छन् ।‘ बालुवाटार र शीतलनिवासले आवेशमा गरेको निर्णयलाई सर्वोच्चले सच्चाइदिएको छ’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘संविधान विपरित प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मिचेको संविधानलाई ट्रयाकमा ल्याइदिएको छ।’

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा फैसला सुनाउँदै शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको छ । त्यस्तै, ७ दिनभित्र प्रतिनिधिसभा बैठक डाक्न पनि भनेको छ ।