काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोलि भारत भ्रमणमा जाने भएका छन् ।

भारतको विदेश मन्त्रालयको निमन्त्रणमा लामिछाने सोमबार नयाँ दिल्ली जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार जेठ १८ गते भारत गएर २० गते फर्कनेछन् । फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा झन्डै दुई तिहाइको बहुमत प्राप्त गरेको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतले हुन लागेको यो पहिलो विदेश भ्रमण हो ।

यो भ्रमण सत्तारूढ दलको प्रमुखको हैसियतमा लामिछानेको पहिलो उच्चस्तरीय विदेश भ्रमण मानिएको छ। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, सडक तथा राजमार्ग मन्त्री नितिन गडकरी लगायत उच्च अधिकारीसँग भेटघाट हुने सम्भावना छ।

भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो दिएको थियो । तर, अहिलेसम्म प्रधानमन्त्रीको भारत भ्रमण तय भइसकेको छैन।प्रधानमन्त्री शाहसँग भेट नहुने भएपछि भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित भएको थियो।  शाहको भारत भ्रमणकै ताकेताका लागि मोदीले विदेश सचिवलाई नेपाल पठाउन खोजेका थिए ।

प्रधानमन्त्री शाहको भारत भ्रमण अनिश्चित भइरहेका सभापति लामिछानेको यो भ्रमणलाई कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। सरकारका प्रवक्ताले प्रधानमन्त्रीको यस भ्रमणसँग कुनै सम्बन्ध नभएको स्पष्ट पारेका छन्।

पूर्वराजदूतहरूले यो भ्रमणलाई स्वाभाविक र सकारात्मक भनेका छन्। उनीहरूका अनुसार नेपाल–भारत सम्बन्धमा सरकार, दल र जनस्तरमा निरन्तर संवाद आवश्यक हुन्छ। कूटनीतिक सम्बन्धलाई मजबुत बनाउन यस्ता भेटघाट र संवाद उपयोगी हुने उनीहरूको भनाइ छ।

रास्वपा स्रोतका अनुसार, लामिछानेको भ्रमण टोलीमा लामिछाने पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा छन् ।