काठमाडौं - एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र टी-२० अन्तर्राष्ट्रियको वरीयतामा नेपालले एक एक स्थान सुधार गरेको छ ।

आइतबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुवै विधामा एकएक स्थान सुधार गरेको हो । नयाँ वरीयताको टी-ट्वान्टीतर्फ नेपाल १३ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १४ औं स्थानमा रहेको थियो ।

यस्तै, नेपाल ओडीआईमा एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको छ ।  घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि जितेपछि नेपालको वरीयता सुधार हुँदै आइरहेको हो ।

टी-ट्वान्टीको नयाँ वरियताको शीर्षस्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् । चौंथो पाकिस्तान र पाँचौं अष्ट्रेलिया रहेको छ ।  यस्तै, एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष स्थानमा रहदा अष्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।