काठमाडौं,एजेन्सी - क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा १० खेलाडीमा समेटिएको रियल भालाडोलिडलाई १–० ले पराजित गर्दै बार्सिलोनाले दोस्रो स्थानमा पकड जमाएको हो । 

घरेलु मैदानमा बार्सिलोनालाई जिताउन औसमाने डेम्वेलेले एकमात्र गोल गरे । उनले ९०औं मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो । ७९औं मिनेटमा ओस्कार प्लानो सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि भालाडोलिड १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा उठाउन बार्सिलोना सफल भयो । 

जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाको २९ खेलबाट ६५ अंक पुगेको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको म्याड्रिडभन्दा १ अंकले पछि छ । पराजित भालाडोलिड २७ अंक जोडेर १६औं स्थानमा रहेको छ ।