काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा बार्सिलोनाले जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३-२ ले पराजित गरेको हो ।

खेलको ३८ औं मिनेटमा बोर्जा इग्लिसियसले गोल गर्दै बेटिसलाई घरेलु मैदानमा अग्रता दिलाएका थिए । त्यसपछि ५९ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । ६८औं मिनेटमा भिक्टर रुइजले आत्मघाती गोल गरेपछि बार्सिलोनाले २–१ को अग्रता लियो ।

त्यसपछि रुइजले नै गोल गर्दै बेटिसलाई बराबरीमा ल्याए । तर, ८७ औं मिनेटमा ट्रिन्काओले गोल गर्दै बार्सिलोनालाई ३–२ को जित दिलाए । जितसँगै बार्सिलोना २१ खेलमा ४३ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित बेटिस भने ३० अंकसहित सातौं स्थानमा छ ।