काठमाडौं, एजेन्सी - साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा मुम्बईले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा सूर्यकुमार यादबले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, इशान किसनले २५ रन जोड्दा क्विनटन डी ककले १८ रन जोडे । हार्दिक पाण्डय १७ रनमा आउट हुँदा कुर्नाल पाण्डयले १० रन बनाए ।

बैंगलोरका युजभेन्द्र चाहल र मोहमद सिराजले २/२ विकेट लिए । क्रिस मोरिसले १ विकेट लिए । यस अघि ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

बैंगलोरका लागि ओपनर देबदुत पडीकलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै जोस फिलिपले ३३ रन जोड्दा एबी डी भिलियर्सले १५ रन बनाए ।

 गुर्किरात सिंहले अविजित १४ रन जोड्दा वासिङ्गटन सुन्दर १० रनमा अविजित रहे । कप्तान विराट कोहली ९ रनमा आउट भए ।

मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । राहुल चाहर, केइरन पोलार्ड र ट्रेन्ट बोल्टले १/१ विकेट लिए । जितसँगै मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । आठौं जित निकालेको मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ ।

बैंगलोरले भने १२ खेलमा १४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ ।