काठमाडौं,एजेन्सी - लन्डन क्लब आर्सनलले युरोपा लिगको समूह चरणमा शतप्रतिशत जित दर्ता गरेको छ ।

बिहीबार राति भएको खेलमा आर्सनलले पाहुना टोली अष्ट्रियन क्लब रापिड वेनमाथि ४–१ गोलअन्तरको सानदार जित निकालेको हो । आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट, पाब्लो मारी, इडवार्ड एनकेइट र इमिल स्मिथ रोइले समान एकएक गोल गरे । रापिडका लागि भने कोया किटागावाले सान्त्वना गोल फर्काएका थिए ।

खेलको १०औँ मिनेटमा लाकाजेटको गालबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो । मारीले १८औं मिनेटमा र एनकेइटले ४४औं मिनेटमा गोल गर्दै आर्सनललाई पहिलो हाफमा ३० को अग्रता दिलाएका थिए । यस्तै, खेलको ४७ औँ मिनेटमा किटागावाले गोल गर्दै रापिडलाई खेलमा फर्काउने कोसिस गरे । तर, ६६औं मिनेटमा रोइले गोल गर्दै आर्सनलाई ४–१ को सहज जित दिलाए ।

समूह ‘बी’ मा आर्सनलले ५ खेलबाट शतप्रतिशत जित निकाल्दै १५ अंक जोडेको छ । आर्सनलले युरोपा लिगको अघिल्लो चरणमा स्थान बनाइसकेको छ ।

यस्तै, समूह ‘जे’ मा रहेको टोटेनहम पनि लिगको नकआउट चरणमा प्रवेश गरेको छ । लास्कसँग ३–३ गोलको बराबरीमा रोकिएपनि टोटेनहमले अन्तिम ३२ मा स्थान पक्का गरेको हो ।