काठमाडौं,एजेन्सी - सिरि ए फुटबलमा युभेन्ट्सले एटलान्टासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

बुधबार राति घरेलु मैदानमा रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्सले बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा फेडरिको चियासाको गोलमा युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । तर, ५७ औं मिनेटमा रिमो फ्रियुरले एटलान्टाका लागि बराबरी गोल फर्काएका थिए ।

चियासालाई डिबक्सभित्र लडाएपछि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो । रोनाल्डोलाई पेनाल्टी सफल बनाउँदै खेल जित्ने अवसर समेत थियो । तर पियरलिगी गोलिनीले रोनाल्डोको प्रहारलाई रोके ।

बराबरीसँगै युभेन्ट्स २४ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ भने एटलान्टा १८ अंकसहित आठौं स्थानमा छ ।