काठमाडौं,जनकपुरधाम - प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम भोलि बिहीबार प्रस्तुत हुने भएको छ ।

सभामुख सरोजकुमार यादवकले आज प्रदेशसभा बैठकमा सो जानकारी दिएका हुन् । प्रदेश प्रमुख डा राजेश झा ‘अहिराज’ले भोलि दिउँसो २ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहको सशर्त अनुदान योजना सन्दर्भमा उत्पन्न समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि हिजोदेखि अवरूद्ध प्रदेशसभा बैठक आज पुनः सञ्चालन भएको छ । सशर्त अनुदान योजनामा प्रदेशसभा सदस्यले पेश गरेको योजना नसमेटिएको, स्वेच्छाचारी प्रवृत्ति देखिएको भन्दै विपक्षी दल नेकपा(एमाले), नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले बैठक अवरूद्ध गरेका थिए । 

आजको बैठकमा मुख्यमन्त्री राउतले स्थानीय तहको सशर्त अनुदानको  योजना सच्याउने प्रतिवद्धता  व्यक्त गर्दे सोका लागि कानून मन्त्रीलाई निर्देशन दिएका थिए ।