काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । मंगलबार बिहान बालकोट पुगेर चन्दले ओलीसँग भेटवार्ता गरेका हुन् । 

भेटमा सरकारसँगको तीनबूँदे सहमति कार्यन्वयन र पछिल्लो विकसित राजनीतिक जटिल घटनाक्रमको बारेमा छलफल भएको बताइएको छ । उनीहरुले १ फागुन २०७७ मा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो गरेका थिए। जसमा अध्यक्ष ओलीले विपक्षमा रहे पनि प्रक्रिया अघि बढाउने आश्वासन दिएको स्रोतले बताएको छ । 

भेटमा नेकपाका महासचिव चन्दसहित पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला लगायत नेता सहभागी थिए । 

यसअघि चन्दले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेटवार्ता गरेका थिए । साथै उनले हालै माओवादी छाडेर एमालेमा लागेका रामबहादुर बादल, मणि थापा, टोपबहादुर रायमाझिलगायतलाई पनि भेटेका थिए  ।