काठमाडाैं - सत्तारुढ ५ दलीय गठबन्धन समन्वय समितिको बैठकले सर्वाेच्च अदालतमा देखिएको विवादमा यथाशीघ्र निकास हुनुपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेमा आशा गरेको छ ।

बैठकको निर्णयमा उल्लेख छ, ‘सर्वाेच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको महत्त्वपूर्ण अंगको रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्दछ भन्ने हाम्रो धारणा छ र सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेछ भन्ने हामी आशा गर्दछौं ।’

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतको उपस्थिति रहेको थियो ।