काठमाडौं - राहदानी विभागले हाल सञ्चालनमा रहेको राहदानी प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण (माइग्रेसन) गर्न लागेकाले देशभित्र तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा केही दिनका लागि बन्द हुने जनाएको छ।
विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गते (जुलाई ८–१०) सम्म तीन दिन बन्द रहनेछ।
यस्तै, राहदानी विभागबाट प्रत्यक्ष रूपमा प्रदान गरिने सेवा भने असार २५ र २६ गते (जुलाई ९–१०) दुई दिनका लागि स्थगित हुनेछ।
विभागका अनुसार असार २९ गते (जुलाई १३) देखि राहदानी सेवा पूर्ण रूपमा नयाँ डिजिटल प्रणालीमार्फत सञ्चालनमा आउनेछ।
राहदानी विभागले नयाँ प्रणाली लागू भएपछि सेवा प्रवाहलाई थप सुरक्षित, छिटो, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने विश्वास व्यक्त गरेको छ।

.gif)



