काठमाडौं - सवारी दुर्घटनामा परी रुपन्देहीमा पत्रकार कृष्णबावु पाण्डेको मृत्यु भएको छ । न्यूज२४ टेलिभिजनमा कार्यरत ३० वर्षीय पत्रकार पाण्डे शनिवार राति पौने १२ बजे सवारी दुर्घटनामा परेका हुन् । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा परी मृत्यु भएको हाे । प्रहरीका अनुसार बुटवलबाट घर फर्कदै गर्दा सिद्धार्थ राजमार्गको ड्राइभरटोलमा उनी सवार कार दुर्घटनामा परेको हो ।

उनले चलाएको बा७च ६९५९ नम्वरको कार अनियन्त्रित भइ रेलिङमा ठोक्किएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।  पाण्डेको टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र कार पूर्ण रुपले क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।     

स्थायी घर स्याङ्जाको बिर्घा रहेका पाण्डे विगत ५ वर्षदेखि न्यूज२४ टेलिभिजनमा कार्यरत थिए ।