काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग ‘कम्फर्टेबल’ सम्बन्धबारे दिएको अभिव्यक्तिबारे प्रस्टीकरण दिएका छन्।

बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भिडियो काटेर गलत प्रचार गरेको बताए । उनले आफ्नो नियत खराब नभएको समेत प्रस्ट पारे । 

'केहि समयअघि एक टेलिभिजनमा दिएको अन्तवार्तामा मैले १२ बुँदेदेखिको प्रसंगमा भारतसँगको विशिष्ट सम्बन्धका बारेमा जोड दिएर कुरा गरेको हुँ, मैले सचेत भएर चीनसँगको सम्बन्धबारे पनि बोलेको थिएँ । तर, ओलीका साइबर स्यालहरूले भिडियो काटेर अपव्याख्या गरे। मेरो नियत खराब थिएन। अबका दिनमा थप सचेतका साथ बोल्नेछु,' प्रचण्डको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने । 

प्रचण्डले केही दिनअघि प्राइम टाइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा 'लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू- कांग्रेस, नेकपा र जनता समाजवादी पार्टीबीच गठबन्धन सरकार बन्दा भारत र चीनलाई पनि कम्फर्टेबल हुन्छ' भनेका थिए।

तर, उक्त अन्तवार्ताको भिडियो काटेर भारतलाई कम्फर्टेबल हुने सरकार बनाइने भन्दै प्रचार गरिएको थियो । जुन पछिल्ला दिनहरुमा विवादित बनेका थिए । 

बैठकमा प्रचण्डले आफूहरुले ओलीविरुद्धको लडाइँका क्रममा सर्वोच्चमा परेको मुद्दा जितेको र निर्वाचन आयोगले पनि आफूहरुलाई नै आधिकारिकता दिने बताए ।