काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ११ गते उत्सव मनाउँने बताएका छन् ।

बिहीबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले आगामी वैशाख ११ गते राजतन्त्र फालेर गणतन्त्र स्थापना भएको अवसरमा उत्सव मनाउँने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने,‘२०६३ साल वैशाख ११ गतेसम्म राजाले अधिकार खोसेर रैतीमा परिणत गरेको थियो । त्यसलाई परास्त गरेर जनताका अधिकार जनतामा ल्याएर विजय हासिल गरेको दिन थियो । त्यो दिन हामीले उत्सवको रुपमा युवा महोत्सव मनाउँदैछौं । त्यसमा हामी सबैको सहभागीताका लागि पनि आग्रह गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट  पारे ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने उनको भनाइ थियो ।

उनले देशको विकास र समृद्धिका लागि एमाले कस्सिएर अघि बढेको दाबी पनि गरे ।