सुर्खेत - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कसैले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र भएको बताएका छन् ।

भूकम्प प्रभावित क्षेत्रबाट फर्किने क्रममा सुर्खेत पुगेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले राजतन्त्र ल्याउनका लागि भएको आन्दोलन व्यर्थ भएको बताए।

अध्यक्ष नेपालले भने,‘गणतन्त्र जनताको व्यवस्था हो, यो कुनै परिवार र खानदानको व्यवस्था होइन । सरकार र मन्त्रीको विषयमा प्रश्न उठाउन सकिएला, तर फेरि पनि राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हो।’

उनले राजतन्त्र ल्याउने कुरा कल्पना मात्रै भएको बताए। उनले अब नेपालका लागि राजतन्त्र इतिहासमा मात्र सिमित हुने बताए। राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने बहानामा आन्दोलन नगर्न पनि आग्रह गरे।

उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलन राजावादीहरूबाट परिचालित भएको आरोप लगाए। नेपालका लागि यस्ता आन्दोलन उपलब्धिविहीन हुने नेपालले बताए।

पछिल्लो समय देशमा देखिएको आर्थिक संकट र संघीयताको विषयमा भएका गल्ती कमजोरी सबैले सच्याउनुपर्ने उनले बताए। मुलुकमा देखा परेको आर्थिक संकट र जनताले भोगिरहेका समस्या समाधानको विषय समग्रमा सोच्नुपर्ने बेला आएको नेपालले बताए।