काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटना सामान्य नभएको बताएका छन् ।

नेपाली कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले दुई जनाको ज्यान जाने गरी शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटना बाहिर देखिए जस्तो मात्र नभएको बताए।

प्रधानमन्त्री प्रचण्डले भने,’दुई युवाको हत्या भएको घटना सामान्य छैन। मैलै यो घटनालाई गम्भीर रुपमा लिएको छु । बालकुमारी घटना बाहिर देखिएजस्तो छैन, त्यहाँ केही न केही षडयन्त्र भएको छ । सो घटना जस्तो देखिएको छ त्यस्तो छैन। त्यो भित्र अर्कै केही छ भन्ने अनुभूत गरेको छु। यो कतै लोकतन्त्रत्र र गणतन्त्रका विरोधमा डिजाइन छैन त भन्ने प्रूप त होइन। यसकारण तुरून्त निलम्बन गर्ने र उच्च स्तरीय छानबिन समिति गठन गरिएको हो।’

प्रधानमन्त्री प्रचण्डले राजनीतिक प्रणालीमाथि आक्रमण भएको त होइन भन्ने भान समेत परेको बताए। आफूसँग कुनै प्रमाण नभएको तर, लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त छैन भन्ने प्रश्न उब्जिएको उनले बताए ।

त्यही कारण तरुन्त सम्बन्धित अधिकारीहरुलाई निलम्बन गर्ने र उच्चस्तरीय छानबिन गर्ने निष्कर्षमा पुगेको प्रधानमन्त्रीले बताए ।

सरकारले गर्नसक्ने कामहरु तुरुन्त गरेको भन्दै उनले केही गलत भाष्य बनिरहेको बताए । जनतालाई निराशा बाँड्ने राष्ट्रवादी हुनसक्ने भन्दै प्रचण्डले गरेका राम्रा काम स्थापित गर्न आँट गर्नुपर्ने बताए ।