काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच छलफल भएको छ ।  

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सकेलगत्तै माओवादी केन्द्र र  जसपाका नेताहरुबीच छलफल भएको हो । छलफलमा माओवादीले जसपालाई नयाँ सरकारमा मात्र नभइ चुनावसम्मै कार्यगत एकता गरेर अगाडि बढ्न प्रस्ताव गरेको बताइएको छ । यसमा आफूहरु सकारात्मक रहेको जसपाका नेताहरुले जवाफ दिएका छन् । 

यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादलाई परास्त पार्ने निष्कर्ष निकालिएको पनि  छलफलबाट बाहिरिएका उपेन्द्र यादवले जानकारी दिए । ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने उनको भनाई छ ।  ओली  सरकारको विकल्पमा छिट्टै नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त छलफल गरेर निर्णयमा पुग्ने विषयमा समझदारी भएकाे पनि उनले जानकारी दिए  । 

छलफलमा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव तथा डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता जनार्दन शर्मा, पम्फा भुषाललगायत नेताहरु सहभागी थिए ।