काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको बताएका छन्।

संसदमा बजेटमाथिको छलफलका क्रममा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन् । आर्थिक सुधारको नयाँ घोषणालाई कार्यान्वयन गर्न नयाँ ढंगले बजेट कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए ।

सांसद वाग्लेले भने, ‘समग्रमा बजेट सन्तुलित आएको छ । यसपटक बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छ ।’ कुनै पनि मुलुक आर्थिक रूपमा सबल हुनका लागि लक्ष्य निर्धारण गर्नुपर्ने र त्यसलाई समयसमेत यकिन गरेर जानुपर्ने बताए ।

प्रस्तुत बजेटले पनि केही लक्ष्य निश्चित गरेको उनले बताए । सांसद वाग्लेले हरेक वर्ष बजेट बढाउँदै लैजाने र मध्यावधि समीक्षाबाट सुकाउने गर्दा बजेटको विश्वसनीयतामा प्रश्न उठ्ने गरेकाले यसमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।

उनले बजेटको आकार केहि बढेको देखिए पनि जिडिपीको अनुपातमा यसवर्षको बजेट घटेर आएको दावी गरे।