काठमाडौं- सुनसरीमा ठूलो परिमाणमा लागू औषध गाँजासहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीअन्तर्गत इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागू औषध ओसारपसार तथा कारोबार भइरहेको सूचनाका आधारमा चेकजाँच गरेको थियो।  उक्त चेकजाँचका क्रममा प्रदेश १–०२–००२ च. ४८५१ नम्बरको कार र को. ११ प. ५६.नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा कारभित्र २२ वटा प्लास्टिकका पोका पारिएको अवस्थामा ४१८ किलो गाँजा बरामद भएको हो ।

पक्राउ पर्नेमा कार चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ बस्ने ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–५ बस्ने २२ वर्षीया जिबनी राई, मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ बस्ने २६ वर्षीय अमर कामत र मोटरसाइकलमा पछाडि सवार ३८ वर्षीय शंकर चौधरी रहेका छन् । बरामद गाँजा, कार र मोटरसाइकलसहित पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।