सिराहा - सिराहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ ।

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र मृतक यादवका परिवारबीच शुक्रबार साँझ भएको सहमतिअनुसार यादवको परिवारका लागि दुई कोठा, किचन र शौचालयसहितको घर निर्माण गरिने भएको हो ।

प्रदेश सरकारले सञ्चालन गर्दै आएको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत मृतक यादवको परिवारलाई आवास उपलब्ध गराउने सहमति भएको हो। सोसम्बन्धी सहमतिपत्रमा मृतक परिवारका लागि आवश्यक संरचनासहितको पक्की घर निर्माण गर्ने उल्लेख छ।

सुनसरीको देवानगन्जमा भएको घटनाको विरोधमा सिराहाको गोलबजारमा यही साउन १४ गते भएको प्रदर्शनका क्रममा गोली लागेर यादवको मृत्यु भएको थियो।

मृतक यादवको परिवारको आर्थिक अवस्था कमजोर रहेको पाइएपछि प्रदेश सरकारको तर्फबाट आवास निर्माण गर्ने निर्णय गरिएको शिक्षा तथा संस्कृतिमन्त्री सिंहले बताए।

उनका अनुसार विपन्न परिवारलाई आवासको व्यवस्था गर्ने प्रदेश सरकारको कार्यक्रमअन्तर्गत यादवको परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिनेछ।