काठमाडौं,एजेन्सी - लिभरपुलले च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम–१६ को पहिलो लेगमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई २–० ले पराजित गरेको हो ।

लाइपजिगको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र साडियो मानेले एक÷एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा दुई गोल गरेको हो ।

खेलको ५३औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५८औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २–० को सहज जित दिलाए । अब दुई टोलीबीचको दोस्रो लेगको खेल लिभरपुलको मैदानमा मार्च १० मा हुनेछ ।