कैलाली - जिल्ला कारागार कैलालीमा शुक्रबार राति भएको हिंसात्मक झडपपछि जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको आपतकालीन बैठक बसेको छ ।

प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरू घटनास्थलमा पुगे पनि कैदीबन्दीहरूले कारागारको गेटमै ताला लगाएर टोलीलाई भित्र प्रवेश गर्न दिएका थिएनन् । त्यसपछि अहिले सिडियो कार्यालयमा सुरक्षा समितिको आपतकालीन बैठक बसेको हो ।

भित्र प्रवेशमा अवरोध भएपछि टोलीले कारागार प्रशासनसँग बाहिरै छलफल गरेर जिल्ला प्रशासन कार्यालयमा फर्किएको थियो । बैठकमा एक जनाको मृत्यु र ४७ जना घाइते हुनेगरी भएको झडप र त्यसपछिको सुरक्षाव्यवस्था बारे निर्णय हुने बताइएको छ ।

घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए । उनको शव सोही अस्पतलाको शवगृहमा राखिएको छ ।

दुई समूहबीच भएको झडपमा घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ‘ए’ ब्लक र ‘बी’ब्लकका कैदीहरूको समूहबीच झगडा भएको बताइएको छ।

पछिल्लो केही महिनादेखि कारागारभित्र निरन्तर झडप भइरहेकाले यस घटनाले सुरक्षा र व्यवस्थापन प्रणालीप्रति थप प्रश्न उठाएको छ । यो घटनाले कैलालीका सिडियो र एसपीको कमजोरी उजागर गरेको छ ।